देवकोटाको निबन्धकारिता , एक सर्वेक्षण – डा।गङ्गाधर अधिकारी

1247

देवकोटाको निबन्धकारिता ः एक सर्वेक्षण
– डा।गङ्गाधर अधिकारी
१. विषयपरिचय
लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६–२०१६) बहुमुखी व्यक्तित्व भएका प्रतिभा हुन् । आफ्नो पचासवर्षीय जीवनयात्रामा २५ वर्ष साहित्य साधनामा बिताएका देवकोटा आधुनिक नेपाली निबन्धका सशक्त निबन्धकार हुन् । नेपाली निजात्मक निबन्ध जगत्को धर्ती देवकोटाको प्रवेश अगाडि प्राय ः बाँझो थियो (सुवेदी (सम्पा.), २०३९ः१) । उनको औपचारिक निबन्ध यात्राको थालनी १९९३ को कार्तिकमा महिनामा शारदामा प्रकाशित ‘आषाढको पन्ध्र’ बाट भएको हो । विधागत स्वरूप र निबन्धात्मक अभिव्यक्तिका हिसाबले नेपाली निबन्ध इतिहासमा आधुनिकताको सूत्रपात गर्ने निबन्ध पनि यही हो । त्यसपछि अगाडि बढेको देवकोटाको निबन्ध लेखन प्रवाहमय देखिन्छ । २००२ सालमा उनका ३७ वटा निबन्धहरूको सङ्कलित स्वरूप लक्ष्मी निबन्धसङ्ग्रह प्रकाशित भयो भने २०३९ सालमा राजेन्द्र सुवेदीको सम्पादनमा थप १८ वटा निबन्धहरूको सङ्गालोको रूपमा दाडिमको रुखनेर प्रकाशित भयो । त्यसको २७ वर्षपछि २०६६ सालमा देवकोटा शताब्दी महोत्सवको अवसरमा शिव रेग्मीको सम्पादनमा १५ वटा निबन्धहरूको सङ्ग्रह महाकवि देवकोटाका निबन्ध प्रकाशित हुन पुगेको छ । उक्त निबन्धसङ्ग्रहमा सङ्गृहीत निबन्धहरू केही अङ्ग्रेजीबाट नेपालीमा अनुदित एवम आत्मपरक निबन्धका साथै कतिपय वस्तुपरक प्रबन्धहरू पनि रहेका छन् । यस सङ्ग्रहका निबन्धहरू नेपालीमा लेखिएका मौलिक निबन्धका साथै कतिपय अङ्ग्रेजीबाट अनुवादित निबन्धहरू पनि रहेका छन् । यस लेखमा देवकोटाका यिनै ७० वटा निबन्धहरूको सर्वेक्षणात्मक अध्ययनका साथै विभिन्न समय र सन्दर्भमा समालोचक एवम् समीक्षकहरूबाट प्रस्तुत गरिएका अभिमतका आधारमा देवकोटाको निबन्ध यात्रा र निबन्धहरूको सङ्क्षिप्त वर्गीकरण गर्दै उनको निबन्धकारिता वा निबन्ध प्रवृत्तिहरूको सर्वेक्षण गर्ने प्रयत्न गरिएको छ ।
२. देवकोटाका निबन्ध यात्रा र उनका निबन्धको वर्गीकरण
२.१ देवकोटाको निबन्धयात्रा
निबन्ध लेखनका दृष्टिले देवकोटाको निबन्ध यात्रालाई हेर्दा उनको निबन्धयात्रा १९९३ सालबाट सुरु भएको हो देवकोटाले १९९३ मा ‘आषाढको पन्ध्र्र’ निबन्धबाट पहिलो साइत गर्दछन्, (सुवेदी सम्पा., २०३९ः१) भने देवकोटाका ‘म सुवासिनी मान्छे भए के गर्ने थिएँ ?, शिशुभक्षकका लागि क्षमाप्रार्थना र साढे’ यी तीन निबन्धहरू २०१६ सालतिर लेखिएका जस्ता देखिन्छन् (बन्धु २०४६ः४७७) । यसरी हेर्दा देवकोटाको निबन्धयात्राको समयावधि १९९३ देखि २०१६ सम्म रहेको देखिन्छ । देवकोटाले आफ्नो जीवनका सबैजसो वर्षहरूमा एकाध निबन्ध लेखेर आफ्नो सृजनशीलतालाई कायम गरेका छन् (सुवेदी सम्पा., २०६३ः२२) । देवकोटा निबन्धलेखनको यो २३ वर्षे समय विधिलाई राजेन्द्र सुवेदीले दाडिमको रुखनेरको सम्पादनको क्रममा सुवेदीले देवकोटाका निबन्धहरूलाई दुई चरणमा विभाजित गरेकाछन् । प्रारम्भदेखि लक्ष्मी निबन्धसङ्ग्रहको प्रकाशनसम्मलाई प्रथम चरण र प्रकाशन पर्यन्त अन्त्यसम्म पछिल्लो चरण वा दोस्रो चरण भनी टुक्राउनु उपयुक्त देखिन्छ (सुवेदी सम्पा., २०३९ः५) भनी उल्लेख गरेका छन् । उनले यस विभाजनलाई प्रवृत्तिगत मूल्यका आधारमा पूर्वाद्र्धका निबन्धमा विलियम व्लेखको रहस्यवाद, वर्डस्वर्थको प्रकृतिप्रधान, मानवतावाद, किट्सको इन्द्रिय सम्वेद्य प्रकृतिको सम्मरण प्रशस्त पाइन्छ भने बौद्धिकताको रमरम मात्रा पनि यस चरणका देवकोटामा साह्रै कम भएको उल्लेख गरेका छन् । उनको निबन्ध यात्राको पूवाद्र्ध चरणको अन्त्यतिर देवकोटाको आत्मपरकतामा जीवन र जगतका विसङ्गतिमूलक तŒवहरू प्रतिको कटुआलोचना जे छ र जे हुनुपर्छका बीचका अन्तः असङ्गतिलाई विशेष रूपले गरिएका आक्षेपलाई तीव्र रूप दिन खोजेको पाइन्छ, (सुवेदी सम्पा. २०३९ः६ ) ।
त्यस्तै गरी सुवेदीले अर्काे पक्षलाई सहायक तŒवको रूपमा लिँदै देवकोटाका निबन्धगत मूल्यका आधारमा १. विशुद्ध स्रष्टाको प्रस्फुटन २. सैद्धान्तिक तŒवको रहस्यात्मक प्रस्फुटन र ३. विशुद्ध स्रष्टा र जीवन जगत्का प्रत्यक्ष द्रष्टाको सन्तुलित प्रष्फुटन गरी तीन चरणमा विभाजन गरेको पाइन्छ । सुवेदी सं. ः २०३९ः६ ।
यहाँ उपर्युक्त चरण उपचरण भित्रको समग्रतामा देवकोटा निबन्धयात्रालाई खोतल्ने हो भने उनको निबन्धयात्रालाई यसरी विभाजन गर्न सकिन्छ ।
२.१.१ प्रथम चरण (१९९३–२००२)
यो ‘आषाढको पन्ध्र’ (१९९३) प्रकाशन पछि लक्ष्मी निबन्धसङ्ग्रह (२००२) प्रकाशनसम्मको समयावधिलाई हो । प्रथम चरणलाई पनि दुई भागमा विभाजन गरी पूर्वाद्ध चरण र उत्तराद्र्धचरण भनी छुट्टाउन सकिने देखिन्छ (अधिकारी, २०६६ः१०५) ।
२.१.१.१ पूर्वाद्ध चरण (१९९३ देखि १९९७ सम्म)
यसलाई देवकोटाको स्वच्छन्दता मात्र प्रयोग भएको समयावधिका रूपमा लिने गरिन्छ । यस समयावधिभित्र ‘आषाढको पन्ध्र’ ‘फूल’, ‘निद्रा’, ‘भलादमी’ र ‘पूर्व र पश्चिम’ जस्ता निबन्धहरू ‘शारदा’ मा प्रकाशित भएको पाइन्छ ।
२.१.१.२ उत्तराद्र्ध चरण (१९९८–२००२)
यो उनको स्वच्छन्दताका साथै आलोचनात्मक यथार्थताको प्रयोग भएको समयावधि हो । ‘बेलामा, मातृभाषाका लागि, फर्सीको झोल र एउटी बुढीको चित्रण’को शारदामा प्रकाशनसँगै अगाडि बढेको यो चरण लक्ष्मी निबन्धसङ्ग्रह २००२ को प्रकाशनसँगै समाप्त भएको पाइन्छ । प्रवृत्तिका दृष्टिले यो व्यञ्जनात्मक अभिव्यक्ति तिर अभिमुख भएको चरण हो ।
२.१.२ दोस्रो चरण (२००३–२०१६)
यो लक्ष्मी निबन्धसङ्ग्रहको प्रकाशनदेखि निबन्धकार देवकोटाको जीवनको अन्तिम क्षणसम्मको समयावधि हो । यसलाई पनि दुई उपचरणमा विभाजन गर्न सकिन्छ ।
२.१.२.१ पूर्वाद्र्धचरण (२००३–२००७)
लक्ष्मी निबन्धसङ्ग्रहको प्रकाशनपछि निबन्धकार देवकोटामा केही शिथिलता आएको देखिन्छ । २००४–२००६ सालको प्रवास जीवनमा उनले लेखेका केही निबन्धहरू युगवाणी पत्रिकामा प्रकाशित भएको पाइन्छ यस समयावधिमा ‘कला, दार्जिलिङ, खरसाङ, कलिम्पोङ र नरनारी’जस्ता निबन्धहरूमा प्रकाशित भएको पाइन्छ, (अधिकारी, २०६६ः१०५) । प्रवृत्तिका हिसाबले यो उपचरणका निबन्धहरू सामाजिक विसङ्गति, आर्थिक एवम् साँस्कृतिक विकृतिलाई टिप्पणी गर्दै प्रहार गरेको पाइन्छ ।
२.१.२.२ उत्तराद्र्ध चरण (२००८–२०१६)
दोस्रो चरणको उत्तराद्र्ध चरण देवकोटाको जीवनको पनि उत्तराद्र्ध चरण हो । यो समयावधिमा लेखिएका निबन्धहरू ‘भ्रमणको महŒव, साहित्यमा शिवत्व, नेपाली भाषा, श्रीपञ्चमीको दिन २०१०, दान, मांशहारीका तरङ्ग, धुम्रपानको क्षमा प्रार्थना, कवि हुने धुनमा, दाडिमको रुखनेर’जस्ता निबन्धहरू २०१९ सालमा विभिन्न पत्रिकामा पकाशित भएको पाइन्छ । थप ४ वटा अप्रकाशित ‘म सुवासिनी मानिस भए के गर्ने थिए ?, शिशु भक्षकका लागि क्षमा प्रार्थना, साँढे र मेरो पाल्पा तानसेनतर्फको यात्रा’ निबन्धहरूको सङ्ग्रह गरी राजेन्द्र सुवेदीको सम्पादनमा दाडिमको रुखनेर २०३९ मा प्रकाशित भएका थिए । यस समयवधिमा लेखिएका केही उनका अङ्ग्रेजीबाट नेपाली अनुवाद, केही वस्तुपरकसहितको निबन्धसङ्ग्रह महाकवि देवकोटाका निबन्ध २०६६ मा प्रकाशित भएका छन् । प्रवृत्तिगत हिसावले हेर्दा यसचरणका निबन्धमा सन्तुलन र समन्वयको खोजी गरेको पाइन्छ ।
२.२ देवकोटाका निबन्धहरूको वर्गीकरणका आधार
समाज र सभ्यताको विकाससँगै चेतना, भावना र आकाङ्क्षालाई सामाजिक संरचना एवम् मूल्य मान्यतामा घनीभूत गर्दै आएको छ । विकास र परिवर्तनसँगै आएको विश्वसमुदाय, यसको विराटता, जटिल युग जीवन, विषम परिस्थिति, युद्ध, हिंसा, अभाव, अन्योल आदिले व्यक्तिको जीवनमा असर पारिरहेको हुन्छ । यस्ता स्थितिले लेखकहरूको साहित्य सिर्जनामा पनि प्रभाव पार्दछ । व्यक्तिको आनीबानी क्रियाकलाप, लवाइ खवाइ, उठबस, सामाजिक मूल्य मान्यतादेखि लिएर समाज र राष्ट्रका अनेक सन्दर्भमा प्रभाव पार्दछ । निबन्धकारले व्यक्ति र जीवन जगतका क्रियाकलाप र सामाजिक जीवनमा देखा पर्ने तीनै विविध पक्षलाई विषयवस्तु बनाएर निबन्ध साहित्यको रचना गर्ने भएकाले प्रत्येक निबन्धमा विषयगत विविधता रहन्छ । देवकोटाका निबन्धहरूलाई सम्पूर्णतामा अध्ययन गरी वर्गीकरण गर्ने काम हालसम्म हुन सकेको देखिँदैन । समालोचक राजेन्द्र सुवेदीले दाडिमको रुखनेर निबन्धसङ्ग्रहको सम्पादनका क्रममा विषयगत अधारमा देवकोटाका निबन्धहरूको वर्गीकरण गरेका छन् । सुवेदीको वर्गीकरणअनुसार रहस्यमूलक, औपचारिकतामूलक, स्वप्रस्फुटनमूलक प्रकृतिगत मूल्यका टिप्पणीमूलक, परम्परागत विसङ्गतिप्रतिको टिप्पणीमूलक, कृतिगत मूल्यमाथि वा स्रष्टामाथिका टिप्पणीमूलक जस्ता आधारहरू वर्गीकरणमा रहेका छन् (सुवेदी सम्पा., २०३९ः ९–२४) ।
सुवेदीले देवकोटाका निबन्धहरूलाई उपर्युक्त विषयगत आधारमा वर्गीकरण गरेको भए तापनि देवकोटाले निबन्धमा प्रयोग गरेको विषयवस्तुको आधारमा यसप्रकार पनि वर्गीकरण गर्न सकिन्छ ।
१. रहस्यमूलक निबन्ध
२. जीवनजगत्सम्बन्धी निबन्ध
३. कलासम्बन्धी निबन्ध
४. साहित्यसम्बन्धी निबन्ध
५. स्रष्टासम्बन्धी निबन्ध
६. संस्कृतिसम्बन्धी निबन्ध
७. विज्ञानसम्बन्धी निबन्ध
८. शिक्षासम्बन्धी निबन्ध
९ व्यङ्ग्यसम्बन्धी निबन्ध
१० आत्माभिव्यक्तिसम्बन्धी निबन्ध
११. प्रकृतिसम्बन्धी निबन्ध
३. देवकोटाका निबन्धगत विशेषता
मूलतः देवकोटा आत्मपरक निबन्धकार हुन् । उनले प्रथम निबन्धकार मोन्तेनको आत्माभिव्यञ्जनाको निबन्धकलालाई अङ्गालेका छन् (त्रिपाठी, २०२८ः ६५) । निबन्धकार लक्ष्मीप्रसाद देवकोटा परिस्थितिका आवासँगै बहने निश्चित चिन्तनका दृढ धरातल नभएका निबन्धकारझै लक्षित हुन्छन् । यसैले भावनाका प्रेरणाअनुसार कहिले उनी अद्धितीय अध्यात्मवादी बन्न पुग्छन् (भट्टराय २०२५ ः १८०) भने कहिले सशक्त क्रान्तिकारी देखिन पुग्दछन् (भट्ट २०२५ः३५९) र कहिले पूर्ण प्रजातान्त्रिक बन्दछन् (बराल २०३३ः२०४) । देवकोटा आफ्नो विश्वास, अन्धविश्वास, रीतिसंस्कृति, देशपरिवेश र सर्वाेपरि प्रकृतिमा रम्ने निबन्धकार हुन् उनले जीवनमा भोगेको निरासा, उपेक्षा र अपमानको कटुताको भावसमेत आफ्ना निबन्धमा प्रस्तुत गरेका छन् (दुवे, १९८१ः३२) ।
विभिन्न पक्ष भिन्नभिन्न सन्दर्भमा र सशक्त विचारका साधक देवकोटाका आफ्नै विशेषताहरू रहेका छन् । उनका निबन्धगत प्रमुख विशेषतालाई यसरी प्रस्तुत गरिएको छ ।
३.१ विषयगत प्रवृत्ति÷विशेषता
देवकोटा निबन्धमा विषयगत विविधता पाइन्छ । देवकोटाको जीवन भोगइका आरोहअवरोह एवम् उतारचढाव पारिवारिक पृष्ठभूमि तत्कालीन राजनीतिक परिवेश, अङ्ग्रेजी भाषा साहित्यको अध्ययन, स्वअध्ययन, देशी–विदेशी मित्रहरूसँगको भेटघाट देशविदेशको भ्रमण, जस्ता कुराको अनुभूति अनुभव र ज्ञानले गर्दा उनलाई विविध विषयका ज्ञाता बनाएको थियो । उनले आफ्ना निबन्धमा रहस्य साहित्य, जीवन जगत् , कला , विज्ञान, सङगीत, संस्कृत्,ि राजनीति, इतिहास, प्रकृति एवम् आफैलाई विषयवस्तु बनाएर निबन्धको रचना गरेका छन् । देवकोटाका निबन्धसङ्ग्रह दाडिमको रुखनेर को सम्पादनका क्रममा समालोचक राजेन्द्र सुवेदीले देवकोटाका निबन्धमा प्रयुक्त विषयवस्तुका सन्दर्भमा चर्चा गर्दै विषयवस्तुका आधारमा वर्गीकरण गर्दा देवकोटाका निबन्ध एकदम जटिल रूपमा उपस्थित हुन्छन् भनेका छन् । एउटै निबन्धमा अनेकौं विषयवस्तुको अस्तिŒव गुजुल्टिएर बसेको देख्न पाइन्छ । एउटै विषयवस्तु पनि ईश्वरीय सत्ताझै सर्वव्यापक रूपमा प्रतिपादित हुन्छ । वस्तुलाई चिन्तनको आधार र प्रतिपादनको सामग्री मान्ने देवको मानवजीवन; टाका निबन्धलाई कलाका दृष्टिले मात्र नियाल्दा वस्तुगत मूल्यलाई विगत र वर्तमान दुई पक्षमा विभाजन गर्न सकिन्छ । वर्तमानको जटिलताप्रति र विगतका अन्ध रुढिप्रति तीव्र रुष्ट भएका छन् । देवकोटा सच्चा प्रकृतिपरक र जीवनको सरलताका अन्वषेक स्रष्टा बनेर देखिउका छन् (दाडिमको रुखनेर, २०३९ः२४) ।
यसरी हेर्दा देवकोटाका निबन्धमा साहित्य, जीवन, धर्म, संस्कृति, कलायस ब्रह्माण्डका अनेक अनुभव र अनुभूतिका साथै इतिहासदेखि वर्तमान हुँदै भविष्यसम्म, पृथ्वीदेखि स्पेससम्म, आफू र आफन्तदेखि, परिचित व्यक्तित्व सम्म, साहित्यपदे राजनीतिसम्म कलादेखि विज्ञानसम्म यावत् पक्षहरूलाई आफ्ना निबन्धका विषय बनाएका छन् । यही विविधता नै देवकोटाका निबन्धका विषयगत प्रवृत्ति (विशेषता) बनेर रहेका छन् ।
३.२ निजात्मकता÷आत्मपरकता
निबन्धका पहिला प्रर्वक फ्रान्सेली विद्वान मोन्तेन आत्मपरक निबन्धकार हुन् । विविध विषयमा निबन्ध लेख्ने उनका विशेषता आत्मबोध, आत्मप्रदर्शन, अदूषित अहभावमा वैयक्तिक विचारहरू भावहरू अनुभवहरू दोषहरू तथा गुणहरूका चित्र हुन् भनिन्छ । आफूलाई लागेका र अनुभव गरेका कुराहरू कसैको प्रवाह नगरी भन्न सक्ने आँट र साहस उनमा भएको जानकारी यस भनाइले गराउँछ त्यस्तै मोन्तेन कुनै शङ्का नमानी आफ्नो वैयक्तिक भावहरू व्यक्त गर्दछन् तथा स्पष्ट रूपले आफ्नो स्थिति प्रकट गर्दछन् भनिएको छ (माथुर, १९७०ः २–३) । मोन्तेनका चेला देवकोटा आत्मपरक निबन्धकार हुन् । नेपाली निबन्धजगत्का विशिष्ट प्रतिभा देवकोटाका आगमनसँगै नेपाली निबन्धको निजात्मकताको महŒवपूर्ण मार्गमा आफूलाई अग्रसर गराएको देखिन्छ (प्रधान, २०६६ः २६) । निबन्धको वास्तविक स्वरूप लक्ष्मीप्रसाद देवकोटामा पाउँछौं । उनले साहित्यको निजात्मक निबन्धको पारा नै नेपाली साहित्यमा ल्याए (प्रधान स २०४८ ः ११३) । देवकोटाले निबन्ध सिर्जनाका क्रममा उनले साहित्यबाट कला, जीवनजगत् विज्ञान, संस्कृति एवम् प्रकृति जुनसुकै क्षेत्रलाई विषयवस्तु बनाएका छन् । उनले ती विषयलाई आफ्नो अध्ययन अनुभवका आधारमा लहडिँदै आत्मकथा बताएझै प्रस्तुत गरेका छन् । उनले विषयको प्रतिपादन र सिद्धान्तको निरूपण गर्नुभन्दा त्यससम्बन्धी आफ्ना निजी धारणा र मान्यताहरू प्रस्तुत गरेका छन् । उनले आफ्ना जीवन भोगाइका अनुभव र समसामयिक परिवेशबाट व्यक्तित्व निर्माण गर्दै साहित्य रचनाका सन्दर्भमा तिनै अनुभवलाई सामग्रीका रूपमा लिई निबन्ध रचना गरेका छन् ।
हिन्दीमा रामचन्द्र शुक्ल, हजारीप्रसाद द्विवेदी, बंगालीमा रवीन्द्रनाथ टैगोरजस्ता निबन्धकारहरूलाई पाठकले मन पराएको पनि त्यही आत्मपरक निजात्मकताले हो र हाम्रा देवकोटा पनि मूल रूपमा त्यसरी नै पाठकप्रिय भएको हुन् (अधिकारी, २०६६ः३१) । समग्रमा हेर्दा निजात्मकताका कोणबाट उनको निबन्धकारिता प्रखर देखिन्छ ।
३.३ स्वच्छन्दता
काव्य जगत मा स्वच्छन्दतावादका अग्रीणी देवकोटाका निबन्धमा पनि स्वच्छन्दतावादी प्रवृत्ति देखापर्नु स्वाभाविक हो । कल्पना, अनुभूति, व्यक्तिवाद, मानवता, सौन्दर्य, प्रेम, विस्मय र रहस्यको अनुभूति, विषद र असन्तोष विद्रोह र नवीनता, लोकसाहित्य र लोकगीत, अतीतप्रेम, प्रकृतिप्रेम मिथक, बिम्ब, प्रतीक र प्रतिकात्मकता जस्ता प्रवृत्तिहरू स्वच्छन्दतावादी प्रवृत्तिहरू हुन् (सिंह, १९८७ः१९) । यी प्रवृत्तिहरू देवकोटाका निबन्धमा प्रमुख भएर आएको पाइन्छ । देवकोटाको यो स्वच्छन्दतावादी निबन्धकला मुख्यतः निजात्मक वा आत्मपरक प्रवृत्ति देखा पर्दछ । यहाँ उनका व्यक्तित्व र चेतनाको छाप टड्कारो रूपमा देखा पर्दछ (त्रिपाठी, २०५२ः२९१) ।
रोमान्टिक कवि र निबन्धकारहरू प्रकृतिको मुक्त प्राङ्गडमा स्वच्छन्द विहार गर्दछन् । देवकोटा पनि सङ्कुल नागरिक कोलाहलबाट उन्मुक्ति चाहन्छन् र प्रकृति वा गुणहरूको मुक्तकण्ठले प्रशंसा गर्दछन् (प्रधान, २०४८ ः ११५) । देवकोटा स्वच्छन्दतावादी निबन्धकार भए पनि यस परम्पराभन्दा अलिक पर समाजवादी चिन्तनको निकटता भएका त्यस्ता निबन्धलाई क्रान्तिकारी स्वच्छन्दतावादी निबन्ध भनेर पहिल्याउने प्रचलन छ (सुवेदी २०५८ः ७८–७९) । देवकोटा प्रारम्भका निबन्धमा विशुद्ध स्वच्छन्दता देखिए तापनि पछि क्रान्तिकारी स्वच्छन्दतावादी प्रवृत्ति निबन्ध लेखनमा मुखरित हुँदै गएको पाइन्छ ।
समग्रमा भन्नुपर्दा देवकोटाका निबन्धमा स्वच्छन्दतावादी प्रवृत्ति महŒवपूर्ण विशेषताका रूपमा रहेको पाइन्छ ।
३.४ हास्यव्यङ्ग्यात्मकता
निबन्धकार देवकोटा आफूलाई व्यङ्ग्यनिबन्धकार हुँ भन्ने दावा गर्दैनन् । तर उनका निबन्धहरूमा हास्यव्यङ्यको प्रभाव देख्न सकिन्छ । आजकल नाटकमा सुत्रधार र नदीको नाक काटिएको युगमा भनेर ‘श्रीगणशाय नमः’ गर्ने निबन्धकार सबैजसो निबन्धका ठाउँठाउँमा व्यङ्ग्य गरेर हास्य घुसाउन जागरुक देखिन्छन् (अधिकारी, २०६६ः ३५) । उनका निबन्धमा गहिरो, चोटिलो र प्रभावकारी रूपमा हास्यव्यङयात्कता आएको पाइन्छ । रामनाथ ओझाले ‘लक्ष्मीप्रसाद देवकोटाका निबन्धमा व्यङ्ग्यचेनता’ शीर्षकको आफ्नो विद्यावारिधि शोधप्रबन्धमा देवकोटाका निबन्धमा प्रस्तुत व्यङ्ग्यका विषयगत प्रवृत्तिहरूलाई हेरी सामाजिक, वैयक्तिक, धर्म, सांस्कृति, भाषा, साहित्य, शैक्षिक व्यवस्था, आधुनिक सभ्यता, राजनीति तथा प्रशासनसम्बन्धी विभिन्न विषयमा तीनका वर्गीकरण गरी सोही आधारमा विश्लेषण गरेको पाइन्छ ।
यसरी हेर्दा हास्यव्यङ्यात्मकता उनको निबन्धको महŒवपूर्ण विशेषताका रूपमा रहेको पाइन्छ ।
३.५ हार्दिकता मिश्रित बौद्धिकता
बौद्धिकता निबन्धको महŒवपूर्ण विशेषता हो । नेपाली निबन्धका बौद्धिक फाँटका सन्दर्भमा कुरो गर्दा देवकोटाका बौद्धिक निबन्धका विषयमा बहस भइसकेको छ । देवकोटा जस्तो विद्धान् र प्रतिभाशाली व्यक्ति आफ्नो कुरा माथिपार्न माहिर थिए भन्ने कुरा स्वभाविक ठहरिन्छ । भाषा, साहित्य, व्यवहार, आदिका विभिन्न उदाहरण, प्रमाण, तर्क आदि पेश गरेर उनले आफ्नो कुरो माथि पार्दछन् । देवकोटाको बौद्धिक निबन्धका सन्दर्भमा उदाहरण देखाउनु पर्दा अहिले थोरै निबन्धको मात्र नाम लिउँ भने ‘धुम्रपानको क्षमाप्रार्थना र जुवा’ दुई निबन्धको मात्र नाम लिन सकिन्छ (अधिकारी, २०६६ः३५–३६)
वास्तवमा भन्ने हो भने उनका निबन्धमा हार्दिकता मिश्रित बौद्धिकताको प्रयोग भएको छ भन्ने कुराको पुष्टि उनको निबन्ध सम्बन्धी– ‘निबन्ध रौंचिरा दर्शन होइन, न हो पाण्डित्य प्रदर्शनको ठ्यासफू; … यो एक किसिमको मनको जालीले जगत्मा लहडी माछा मार्ने कला हो । यो टेबुल गम हो, चश्मादार अध्यापकको व्याख्यान होइन, न त बमन बेदान्त’ भन्ने परिभाषाबाट समेत पुष्टि हुन्छ ।
३.६ भाषाशैलीगत विशेषता
भाषाशैली निबन्धको महŒवपूर्ण पक्ष हो । निबन्धमा प्रयुक्त भाषाशैली प्रत्येक निबन्धकारको बेग्लाबेग्लै किसिमको हुन्छ । त्यसैले प्रत्येक निबन्धकारको मौलिकता ठहरिन्छ । निबन्ध मूलतः गद्य विधा भएर पनि त्यसमा काव्यात्मकता आउन सक्छ । त्यस्तै वाक्यगठन तथा शब्द चयनगत कुशलताले निबन्धको भाषाशैलीको गरिमा कायम भएको हुन्छ । तसर्थ बिम्बप्रतीकको प्रयोग, काव्यात्मकता, वाक्यगठन तथा शब्द प्रयोगका दृष्टिबाट निबन्धकार देवकोटाको भाषाशैलीगत विशेषतालाई हेर्न सकिन्छ ।
देवकोटाको शब्द प्रयोगका सन्दर्भमा डा. कुमारबहादुर जोशीले ‘एक व्यक्तित्व अनेक दृष्टि’ नामक कृतिमा पण्डित बदरीनाथ भट्टराईले बताएको उनको भाषानीतिसम्बन्धी धारणालाई प्रस्तुत गर्दै नेपाली भाषाप्रकाशिनी समितिलाई लेखको पत्रमा बताएबमोजिम नेपाली भाषामा शब्द थोरै भएको हुँदा प्रचलित शब्दबाटै धातु बनाएर धेरै शब्द बनाउन परेको आवश्यकताको धारणा देवकोटाको रहेको आशय प्रस्तुत गरेको पाइन्छ (जोशी २०४३ः४९) । यसबाट प्रष्ट हुन्छ कि संस्कृत, अङ्ग्रेजी साथै अन्य भाषाका साथै आफ्नै नेपाली भाषाका शब्दहरूलाई केलाएर खेलाएरसमेत नयाँ शब्द निर्माण गरी देवकोटाले निबन्धमा प्रयोग गरेका छन् । नामबाट क्रियापद निर्माण –नाम, विशेषण, र अव्यय शब्दबाट क्रियापद बनाउने नाम धातुका प्रक्रियाबाट शब्दका क्रियापद बनाउने काम पनि निबन्धकार देवकोटाले गरेको पाइन्छ (अधिकारी, २०६६ः४०) ।
वाक्य गठनका दृष्टिले देवकोटाका निबन्धमा पनि नवीनता वा विविधता भेटिन्छ । उनका निबन्धमा प्रयुक्त वाक्यमा कतिपय ज्यादै छोटा दुईवटा शब्दसम्म र कतिपय ज्यादै लामा ११३ शब्दसम्मका वाक्य गठन पनि भेट्न सकिन्छ ।
रीति गुण, रस, ध्वनिको, सचेत आयोजनाका सधैँ विरोधी देवकोटाका वस्तुगत भाव प्रणहका क्रममा स्वतः स्फूर्त रूपमा अलङ्कार, साङ्गीतिकता रस र गुणको फैलावट साथै विविध रस र ध्वनिको प्रयोग देख्न सकिन्छ । आफूलाई पोथी गद्यको प्रयोगको दावी गर्ने देवकोटाका निबन्धमा सहज, सरल र साङ्गीतिक कवितात्मक गद्य वा पोथी गद्यले निबन्धको उच्चता कायम गराएको पाइन्छ ।
देवकोटाले निबन्धकलम अङ्गालेको आत्माभिव्यक्ति प्रधान गद्य शैलीमा बनावटीपन वा कृत्रिम सजावटका साथै काटछाँट तथा रङ्गरोग र थप्ने परिष्कार परिमार्जनको प्रवृत्ति निकै कम पाइन्छ । उनका निबन्धमा बीचबीचमा असङ्ख्य सारगर्भित खँदिला र सुन्दर उक्ति फेला पर्ने गर्दछन् । जसलाई ‘सूक्ति’ का रूपमा चिन्न सकिन्छ (त्रिपाठी, २०५२ ः २९२–२९४) ।
वास्तवमा भन्ने हो भने निबन्धमा आत्मपरक अर्थात निजात्मक शैली प्रस्तुत गर्नु निबन्धकार देवकोटाको आफ्नोपन हो । साथै देवकोटाका अधिकांश निबन्धमा हार्दिकपक्ष भेट्न सकिन्छ । भने कतिपय निबन्धमा तार्किकतासमेत विशेषताका रूपमा आएको पाइन्छ । देवकोटाको व्यङ्ग्यको भाषाशैलीमा विशिष्टता पाइन्छ । देवकोटाका निबन्धको भाषिक र शैलीगत विशिष्टताअन्तर्गत विचलन, समानान्तरता, पर्यायकथन, विशेषणगुचछको प्रयोग, कम प्रचलित र अप्रचलित शब्दयुग्मको प्रयोग, दृष्टान्तकिरण, अलङ्कारण, उखान, टुक्का तथा नवनिर्मित क्रियाको प्रयोगका साथै व्यङग्यका रूपअन्तर्गत, अतिरञ्जना, हास्य, वक्रोक्ति, बाक्वैदग्ध्य आदिको प्रयोग पाइन्छ ।
त्यस्तै उनको थप निबन्धका विशेषताहरूको चर्चा गर्ने हो भने रहस्यातमक्ता, असन्तुलित अकारात्मकता जनपक्षीयता, अमूर्तता, विचार र भावको सन्तुलनजस्ता महŒवपूर्ण देवकोटाका निबन्धगत विशेषताहरूको विश्लेषण गर्न सकिन्छ ।

४.निष्कर्ष
आधुनिक नेपाली निबन्धका जन्मदाता लक्ष्मीप्रसाद देवकोटाको निबन्धयात्रा (१९९३–२०१६) २३ वर्ष रहेको पाइन्छ । उनका लक्ष्मी निबन्धसङ्ग्रह (२००२), दाडिमको रुखनेर (२०३९) र महाकवि देवकोटाका निबन्ध (२०६६) गरी तीनवटा निबन्धसङ्ग्रह प्रकाशन भएका छन् । देवकोटाको निबन्धलेखनको प्रवृत्तिगत अवस्था वा स्वरूपलाई हेर्दा आरम्भदेखि लक्ष्मी निबन्धसङ्ग्रह (२००२) सम्मको समयावधिलाई प्रथम चरण र २००२ देखि उनको जीवनको अन्तिम क्षण २०१६ सम्मका समयावधिलाई दोस्रो चरण गरी विभाजन गर्न सकिन्छ । प्रथम चरण १९९८ सम्म स्वचछन्दता मात्रको समयावधिलाई पूवाद्र्ध चरण र त्यसपछिको स्वच्छन्दतासँगै आलोचनात्मक यथार्थताको समयावधिलाई उत्तराद्र्ध चरण भन्न सकिन्छ भने दोस्रो चरणको २००७ सम्मको विभिन्न विकृतिको टिप्पणि गर्दै प्रहार गरेको समयावधिलाई पूवाद्र्धचरण र त्यसपछि समन्वयात्मक प्रवृत्तिको समयावधिलाई दोस्रो चरण भनी विभाजन गर्न उपयुक्त देखिन्छ । यही मोड र उपमोडभित्र जन्मेका निबन्धलाई विषयगत वैशिष्ठ्यका हिसाबले रहस्यमूलक, औपचारिकतामूलक प्राकृतिक मूल्यको टिप्पणीमुलक, स्वप्रस्फुटनमूलक, परम्परागत विसङ्गतिप्रतिको टिप्पणी, सृजनात्मक कृति वा स्रष्टामाथिका टिपपणीमूलक निबन्धहरू भनी वर्गीकरण गरिँदै आएको छ । देवकोटाको निबन्धकारिताको सन्दर्भलाई हेर्दा मुख्य कुरालाई केन्द्रविन्दु बनाई त्यसलाई आफ्ना मनका भावना कल्पनाका तरङ्ग अध्ययन र ज्ञान एवम् विचार दृष्टिकोणका आधारमा आत्माभिव्यक्ति प्रदान गर्ने स्वच्छन्द र अनौपचारिक निबन्ध कथन गर्ने प्रवृत्ति पाइन्छ । यसक्रममा उनले बौद्धिक रमरमसगैँ कुनै कुराको व्याख्या, विस्तार र पुष्टिका साथै नयाँ नयाँ पाराको पुनरुक्ति एवम् कुनै कुराको खण्डनसमेत गरेको पाइन्छ । निबन्धमा एक तिर उनको भावना, तर्कना र कल्पना शक्तिको वेजोड प्रवाह स्वस्फूर्त र स्वच्छन्द प्रवाह बगिरहेको हुन्छ भने अर्कोतिर उनको अध्ययन अनुभवको सेरोफेरोलाई झल्काउने खालका अनेक ऐतिहासिक, पौराणिक साँस्कृतिक प्रसङ्ग र पात्रहरूका साथै ज्ञानविज्ञान र कलासाहित्यका अनेक व्यक्तित्व, कृति र विचार प्रसङ्कहरूको सन्दर्भ तथा सङ्केतहरूको पनि बाहुल्यता रहेको पाइन्छ । स्वच्न्दता,, आत्मपरकता रहस्यातमकता, वयाङ्ग्यात्मकता, हार्दिकमिश्रित, बौद्धिकता, अमूर्तता, जनपक्षीयता, विचार र भावको सन्तुलन जस्ता निबन्धगत विशेषता रहेका देवकोटाका निबन्धमा असन्तुलित आकारात्मकता पनि विशेषताकै रूपमा रहेको पाइन्छ भने उनमा कुनै कुरालाई प्रचलित कथनशैलीमा भाग नभनी विदग्धतानुसार अभिव्यक्तिगत कौशलका साथै व्यङ्ग्य विषयलाई सूत्रात्मक रूपमा प्रस्तुत गर्ने प्रवृत्ति पाइन्छ ।
निचोडमा भन्ने हो भने देवकोटाको विषयवस्तु, कलागत र शैलीगत प्रवृतिहरूले उनको निबन्ध कलालाई उचाली उनलाई नेपाली साहित्यका सर्वश्रेष्ठ निबन्धकारका रूपमा स्थापित गरेको पाइन्छ ।

सन्दर्भसूची
अधिकारी, गङ्गाधर (२०६६), ‘देवकोटाका निबन्धयात्राका मोड उपमोडहरु’ गरिमा, (वर्ष २७, पूर्णाङ्क ३२३) पृ. १०४–१०७ ।
अधिकारी, रविलाल (२०६६), गद्यकारका रुपमा देवकोटा, पोखरा ः अलिभिया लोकवाङ्मय प्रतिष्ठान ।
ओझा, रामनाथ (२०५९), ‘लक्ष्मीप्रसाद देवकोटाको निबन्धमा व्यङ्ग्यचेतना’, अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध त्रि.वि. ।
ओझा, रामनाथ (२०६४), शङ्कर लामिछानेको निबन्धकारिता, काठमाडौं ः पालुवा प्रकाशन प्रा.लि.।
जोशी, कुमारबहादुर (२०४३), एक व्यक्तित्व अनेक दृष्टि, काठमाडौ. ः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।
जोशी, कुमारबहादुर (२०६१), लक्ष्मीनिबन्ध सङ्ग्रहकका निबन्धहरुमा देवकोटाका काव्यमान्यता, काठमाडौं ः श्रीमी सरस्वती जोशी ।
त्रिपाठी, वासुदेव (२०२८), विचरण, काठमाडौं ः भानु प्रकाशन ।
त्रिपाठी वासुदेव (२०५२), नेपाली साहित्य श्रृङ्गला भाग २, काठमाडौं ः एकता बुक्स डिष्ट्रिव्युटर्स प्रा.लि. ।
दुवे, चन्द्रेश्वर (ईं १९८१), नेपाली साहित्य एक सर्वेक्षण, मणिपूर ः ज्योति प्रकाशन ।
देवकोटा, लक्ष्मीप्रसाद (२०३९) दाडिमको रुखनेर, काठमाडौं ः साझा प्रकाशन ।
देवकोटा, लक्ष्मीप्रसाद (२०६४), लक्ष्मी निबन्धसङ्ग्रह, १७ औं (सं.) काठमाडौं ः साझा प्रकाशन ।
देवकोटा, लक्ष्मीप्रसाद (२०६६) महाकवि निबन्धका निबन्ध, काठमाडौ. ः महाकवि देवकोटा सतवार्षिक महोत्सव ।
प्रधान, राजनारायण (ई १९७३), केही केहि केही स्मृति, दार्जिलिङ ः नेपाली साहित्य परिषद ।
प्रधान, प्रमोद (२०६६), नेपाली निबन्धको इतिहास, काठमाडौ. ः रत्नपुस्तक भण्डार ।
बन्धु, चूडाबणि (२०४६), देवकोटा दो.सं., काठमाडौं ः साझा प्रकाशन ।
बराल, ईश्वर (सम्पा.) (२०३३), झ्यालबाट, दो.सं., काठमाडौं ः साझा प्रकाशन ।
भानु, वर्ष ५, किरण १२, २०२५ ।
सिंह, वच्चन (ई १९८७), नवस्वच्छन्दतावाद, बारणसीः विश्वविद्यालय प्रकाशन ।
सुवेदी, राजेन्द्र (२०५८), स्रष्टा सृष्टि द्रष्टा दृष्टि, ते.सं., काठमाडौं ः साझा प्रकाशन ।
सुवेदी राजेन्द्र (सम्पा.)(२०६३), नेपाली निबन्ध भाग ३, काठमडौ. ः पाठ्यसामग्री पसल ।

Leave us a Comment